काबुलीवाला- रविन्द्रनाथ ठाकुर

साहित्य नेपाल September 6, 2017 कथा
मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन् । उनकी आमा कहिले काहीं उनलाई हप्कीधप्की गरेर चुप लगाउने गर्छिन्, तर म यस्तो गर्न सक्दिन । यदि मिनी चुप लागेर बसिन् भने उनी यस्ती अनौठी देखिन्छिन् कि म उनी चुप लागेर बसेको धेरै बेर हेर्नै सक्दिन । वास्तविक कारण यही हो कि उनको र मेरो कुराकानी निकै उत्साहका साथ चल्ने गर्छ ।
बिहान म आफ्नो उपन्यासको सत्रौं अध्याय लेख्न लागिरहेको थिएँ तब मिनी आएर भन्न थालिन्, “बाबा, रामदयाल चौकीदार काकालाई काग भनिरहेको थियो । उसलाई केही पनि थाहा छैन । हकि बाबा ?”
संसारको भाषाको विभिन्नताको बारेमा म उनलाई केही ज्ञान दिन लागिरहेको थिएँ उसै बेला उनले अर्को प्रसंग निकालिन्, “सुन्नुस् न बाबा, भोलाले भनिरहेको थियो कि आकाशबाट हात्ती सूँडले पानी छर्ने गर्छ, त्यसैले पानी पर्छ । मेरी आम्मै ! भोला झुटमुटका नै यति धेरै कुरा भन्छ, बस बोलिरहन्छ, दिन–रात बोलिरहन्छ, बाबा ।”
यस बिषयमा मेरो रायको लागि एकैछिन पनि नपर्खी उनले अचानक सोधिन्, “किन बाबा, आमा तपाईंको को पर्नु हुन्छ ?”
मैले मनमनै भनें, ‘बदमास’, र मुखले भनें, “मिनी, तिमी जाऊ, गएर भोलासँग खेल । मैले अझै धेरै काम गर्नुछ ।”
उनी मेरो लेख्ने टेबल नजिकै मेरो खुट्टानेर बसिन् र दुवै घुँडा र हात हल्लाएर, फुर्तीले मुख चलाउँदै घोक्न थालिन्, “अक्कड बक्कड घोडा डुम ।” त्यो बेला मेरो उपन्यासको सत्रौं अध्यायमा प्रतापसिंह कञ्चनमालालाई लिएर अन्धेरी रातमा कारागारको अग्लो झ्यालबाट तल नदीको पानीमा हामफालिरहेको थियो ।
मेरो कोठा सडकको किनारमा थियो । एकाएक मिनी अक्कड बक्कड खेल्न छोडेर झ्यालको छेउमा दौडेर पुगिन् र जोडले बोलाइन्, “काबुलीवाला ! ओ, काबुलीवाला !!”
नमिलेका फोहोर लुगा लगाएको, टाउकोमा पगडी बाँधेको, काँधमा झोला झुण्ड्याएर र हातमा अंगूरको दुई–चार पिटारी लिएर एउटा अग्लो काबुली सुस्त चालमा सडकमा हिंडिरहेको थियो । उसलाई देखेर मेरी छोरीको मनमा कस्तो भावना जाग्यो होला, यो भन्न मुश्किल छ तर उनी जोड–जोडले बोलाइरहेकी थिइन् । मैले सोचें, काँधमा झोला भिरेर अब एउटा आपत मेरो टाउकोमा सवार हुनेछ र मेरो सत्रौं अध्याय समाप्त हुन पाउने छैन ।  तर मिनीले बोलाएको सुनेर जब काबुलीले हाँसेर आफ्नो अनुहार घुमायो र मेरो घरतिर आउन थाल्यो, तब मिनी हतार हतार भएभरको शक्ति लगाएर भित्रतिर दगुरिन् र बेपत्ता भइन् । उनको मनमा एक प्रकारको अन्धविश्वास भरिएको थियो कि त्यो काबुलीको झोलामा मिनी जस्ता दुई–चार जीवित बच्चा भेटिन सक्छन् ।
काबुलीले अगाडि आएर हाँस्दै नमस्ते ग¥यो र उभिरह्यो । मैले सोचें, हुन त प्रतापसिंह र कञ्चनमाला दुवैको स्थिति बडो संकटमा छ तर पनि यो मानिसलाई घरमा बोलाएर केही नकिनी पठाउनु पनि ठीक हुनेछैन ।
केही सामान किनें । त्यसपछि यता–उताको कुराकानी पनि हुनथाल्यो अब्दुल रहमानसँग रुस, अंग्रेज, सीमान्त–रक्षा–नीतिमा कुरा भइरह्यो ।
अन्त्यमा जाने बेलामा उसले सोध्यो, “साहेब, तपाईंकी छोरी कता गइन् ?”
मिनीको मनबाट बेकारको डर हटाउने सोचाइले मैले उनलाई बाहिर बोलाएँ । उनी मसँग टाँसिएर उभिइन् । शंकाको दृष्टिले उनले काबुलीको अनुहार र उसको झोलातिर हेरिरहिन् । काबुलीले झोलाबाट काजू, किशमिश निकालेर दिन चाह्यो, तर उनले लिन मानिनन् । दोब्बर शंकाका साथ उनी मेरो घुँडामा टाँसिएर उभिइन् । पहिलो परिचय यसरी भएको थियो ।
केही दिनपछि, बिहानै कुनै आवश्यक कामले म घर बाहिर निस्कदा मैले देखें, मेरी छोरी ढोकाको छेउमा रहेको बेञ्चमा बसेर बिनासंकोच कुरा गरिरहेकी छिन् । काबुली उनको खुट्टाको छेउमा बसेर मुस्कुराएर सुनिरहेको छ र बीच बीचमा प्रसंग अनुसार आफ्नो राय पनि खिचडी भाषामा व्यक्त गरिरहेको छ । मिनीको पाँच वर्षको अनुभवमा उनको बुबा बाहेक यस्तो धैर्यवान श्रोता शायदै पहिला कहिल्यै भेटिएको होस् । फेरि देखें, उनको सानो अञ्जुली बदाम, किशमिशले भरिएको छ । मैले काबुलीसँग भनें, “यिनलाई यो सब किन दिएको ? यस्तो नगर्नु ।” यति भनेर मैले गोजीबाट आठाना पैसा निकालेर उसलाई दिएँ । उसले अप्ठ्यारो नमानी आठाना लिएर झोलामा हाल्यो ।
घर फर्किदा देखें, त्यो आठानीको विषयमा ठूलो हो–हल्ला शुरु भइसकेको थियो ।
मिनीकी आमा एउटा सेतो चमचमाउँदो गोलाकार पदार्थ हातमा लिएर मिनीलाई हप्काउँदै सोधिरहेकी थिइन्, “तैंले यो आठानी कहाँबाट पाइस् ?”
मिनीले भनिन्, “काबुलीवालाले दिएको हो ।”
उनकी आमाले भनिन्, “काबुलीवालासँग तैंले आठानी किन लिएको ?”
मिनीले रुन्चे स्वरमा भनिन्, “मैले मागेको होइन, ऊ आफैंले दिएको ।”
म आएर मिनीलाई आइलागेको विपत्तीबाट बचाएँ र बाहिर लिएर गएँ ।
थाहा भयो काबुलीसँग मिनीको यो नै दोस्रो भेटघाट थिएन । यस बीचमा ऊ सधैं आउने जाने गरिरहन्थ्यो र मिनीलाई पेस्ता–बदाम घुस स्वरुप दिएर मिनीको कोमल लोभी हृदयमा धेरै अधिकार जमायो ।
यी दुई साथीमा केही निर्धारित कुरा र ठट्टा भइरहन्थ्यो । जस्तो रहमानलाई देख्ने वित्तिकै मेरी छोरी हाँस्दै उसँग सोध्थिन्, “काबुलीवाला, ओ काबुलीवाला ! तिम्रो झोलामा के छ ?”
रहमान मजाकमा जवाफ दिन्थ्यो, “हात्ती ।”
अर्थात् उसको झोला भित्र हात्ती छ, यो उसको ठट्टाको सूक्ष्म अर्थ थियो । अर्थ अति नै सूक्ष्म होला यस्तो त मान्न सकिदैन तथापि यो ठट्टामा दुवैलाई बडो मजा आउँथ्यो । जाडोको मौसममा एउटा ठूलो र एक सानी बच्चीको सरल हाँसो मलाई पनि बडो राम्रो लाग्थ्यो ।
त्यो बेला अर्को एउटा कुरा भइरहेको थियो । रहमान मिनीसँग भनिरहेको थियो, “खोखी” (मुन्नी) तिमी कहिल्यै विवाह गरेर ‘ससुराली’ नजानु, है !”
बंगाली परिवारका केटीहरु बाल्यकालदेखि नै विवाह शब्दसँग परिचित हुन्छन् तर हामीहरु केही आधुनिक भएको कारण सानी बच्चीलाई विवाहको बारेमा सचेत गराएका थिएनांै । यसैले रहमानको कुराको अर्थ उनी राम्ररी बुझ्न सक्दिन थिइन्, तर कुनै कुराको जवाफ नदिइकन चुप लागेर बस्नु उनको स्वभावको बिल्कुलै विपरीत थियो । उनले तुरुन्तै रहमानसँग सोधिन्, “तिमी विवाह गरेर ससुराल जान्छौ ?”

 

रहमान काल्पनिक ससुराप्रति आफ्नो ठूलो मुड्की उज्याएर भन्छ, “म त ससुरालाई मार्नेछु ।”
यो सुनेर मिनी ‘ससुरो’ नामको कुनै अनौठो प्राणीको दुर्दशाको कल्पना गरेर खूब हाँस्छिन् ।
जाडोको घमाइलो दिन थियो । प्राचीनकालमा यो मौसममा राजाहरु दिग्विजय गर्न निस्कन्थे । म कलकत्ता छोडेर कतै गएको थिइनँ । शायद यसैले मेरो मन संसारभरि घुम्ने गथ्र्यो । जस्तो म आफ्नो घरको कुनामा नै सदासदादेखि बसेको छु । बाहिरी संसारको लागि मेरो मन सदा बेचैन रहन्छ । कुनै देशको नाम सुन्ने वित्तिकै मन दौडी हाल्छ । कुनै विदेशीलाई देख्ने वित्तिकै मेरो मन तुरुन्तै नदी–पहाड–जंगलको बीचमा एउटा कुटीको दृश्य देख्न थालिहाल्छ । कल्पनामा उल्लासले भरिएको स्वतन्त्र जीवनको एउटा चित्र जाग्न थाल्छ ।
यता म पनि यति एकान्तिक प्रकृति छु कि आफ्नो कोठो छोडेर एकछिन बाहिर निस्कदा पनि टाउकोमा बिजुली खसेझंै अनुभव हुनथाल्छ । यसैले बिहान बिहानै आफ्नो सानो कोठाको टेबल अगाडि बसेर काबुलीसँग गफ लगाएर आप्mनो घुमफिरको आनन्द पूरा गर्ने गर्छु । दुवैतिर उबड–खाबड, दुर्गम, डढेको, रातो रातो अग्लो पहाडको श्रृंखलाको बीचमा साघुँरो मरुभूमीको बाटो र त्यसमा सामान लादिएका उँटको लश्कर हिंडिरहेको छ । पगडी बाँधिएको व्यापारी र यात्रीहरुमा कोही ऊँटमा त कोही पैदल हिंडिरहेका, कसैको हातमा भाला छ त कसैको हातमा पुरानो जमानाको चकमक पत्थरले हानिने बन्दुक । काबुली आफ्नो मेघ गर्जनजस्तो स्वरमा, खिचडी भाषामा आफ्नो देशको बारेमा सुनाइरहन्छ र यो चित्र मेरो आँखाको अगाडि लश्करभैंm बढ्दै जान्छ ।
मिनीकी आमा बडा शंकालु स्वभावकी छिन् । बाटोमा कुनै आहट हुने वित्तिकै उनलाई लाग्थ्यो कि दुनियाँभरका जड्याहा मातेर हाम्रो घरतिर दौडदै आइरहेका छन् । यो दुनियाँ हरेक ठाउँ चोर–डाकू, जड्याहा, सर्प, बाघ, भालु, मलेरिया, सुँघुर, ब्वाँसो र गोरोले भरिएको हुन्छ भन्ने उनको विचार छ । यतिका दिनदेखि (जबकि धेरै दिन भएकै छैन) दुनियाँमा बसेर पनि उनको मनबाट यो डर हटेको छैन  । खासगरी रहमान काबुलीको बारेमा उनी पूर्ण रुपमा निश्चिन्त थिइनन् । उनमा खास नजर राख्नको लागि उनी बारम्बार मसँग अनुरोध गर्थिन् । म उनको शंकालाई हाँसोमा उडाउने कोसिस गर्थें, तब उनी मसँग एक–एक गर्दै अनेक प्रश्न सोध्थिन्, “के कहिल्यै कसैको छोराछोरी चोरी भएको छैन ? के काबुलमा गुलामी–प्रथा चलेको छैन ? एक बलियो बाङ्गो काबुलीलाई एउटा सानो बच्चा चोरेर लान के बिल्कुलै असंभव छ ?”
मैले मान्नु प¥यो कि यी कुरा बिल्कुलै असंभव छैनन् तर विश्वास योग्य पनि छैनन् । विश्वास गर्ने शक्ति हरेकमा समान हुँदैन, यसैले मेरी पत्नीको मनमा डर बसिरहेको थियो । तर सिर्फ शंकाकै भरमा कुनै दोषबिना रहमानलाई आफ्नो घरमा आउनबाट मैले रोक्न सकिन ।
हरेक वर्ष माघ महिनामा रहमान आफ्नो देश जानेगर्छ । यो समयमा ऊ आफ्नो पैसा भुक्तानीमा नराम्ररी फस्छ । घर–घरमा दौडनुपर्छ, तथापि ऊ एक पटक मिनीसँग भेट गर्नको लागि आउने गर्छ, हेर्दा लाग्छ, जस्तो कि दुईमा कुनै षडयन्त्र चलिरहेको होस । ऊ जुन दिन बिहान आउन पाउँदैनथ्यो त्यो दिन साँझमा आउने गथ्र्यो । अँध्यारो कोठाको कुनामा खुकुलो कुर्था पाइजामा लगाएर झोला–भ्mयाम्टा बोकेको अग्लो मानिस देखेर साँच्चै मनमा अचानक एउटा आशंका जस्तो उब्जन्छ । तर जब म देख्छु कि मिनी ‘काबुलीवाला, काबुलीवाला’ भन्दै हाँस्दै दौडदै जान्छिन् र अलग–अलग उमेरका दुई पुराना साथी बीच सहज परिहास चल्न थाल्छ, तब मेरो हृदय खुशीले भरिन्छ ।
एक दिन बिहानै म आफ्नो सानो कोठामा बसेर आफ्नो किताबको प्रुफ हेरिरहेको थिएँ । जाडोको मौसम सकिनु अगाडि आज दुई–तीन दिनदेखि धेरै चिसो बढेको थियो । चारैतिर सबैका दाँत किटकिटाइरहेका थिए । झ्यालको बाटो भएर घाम छिरेर मेरो खुट्टामा परिरहेको थियो । यो न्यानो मलाई धेरै रमाइलो लागिरहेको थियो । बिहानको करीब आठ बजेको हुँदो हो । गलबन्दी बेरेर बिहानै घुम्न निस्किने मानिसहरु घुमफिर गरिसकेर फर्किरहेका थिए । यही बेला सडकमा निकै होहल्ला मचिएको सुनियो ।
हल्ला आएतिर हेरें, रहमानलाई दुई सिपाहीले बाँधेर लगिरहेका छन् र उसको पछिपछि तमाशा हेर्ने मानिसको भीड आइरहेको छ । रहमानको लुगामा रगतको दाग छ र एउटा सिपाहीको हातमा रगत लतपतिएको चक्कु छ । मैले ढोका बाहिर गएर सिपाहीलाई सोधें कि यो सब के हो ?
केही ती सिपाही र केही रहमानबाट थाहा पाएँ कि हाम्रै छिमेकमा एक मानिसले रहमानसँग उधारोमा एउटा रामपुरी बर्को किनेको थियो । केही रुपैयाँ अझै तिर्न बाँकी थियो, जुन तिर्न उसले मानेन । यसैमा बहस हुँदाहँुदै रहमानले उसलाई चक्कुले घोपिदियो ।
रहमान त्यो झूटो मानिसलाई अनेकानेक प्रकारको गाली गरिरहेको थियो कि यसै बेला ‘काबुलीवाला, ओ काबुलीवाला’ भन्दै मिनी घरबाट बाहिर निस्केर आइन् ।
क्षण–भरमा रहमानको अनुहारमा उज्यालो हाँसो झुल्कियो । उसको काँधमा आज झोला थिएन यसैले झोलाको बारेमा दुवै साथीले पुरानो चर्चा गर्न सकेनन् । मिनी आउने वित्तिकै एकाएक सोध्न थालिन्, “तिमी ससुराली जाँदैछौ हो ?”
रहमानले हाँसेर भन्यो, “हो, त्यतै त गइरहेको छु ।”
उसलाई लाग्यो उसको यो जवाफले मिनी हाँसिनन् । तब उसले हात देखाएर भन्यो, “ससुरालाई मार्ने थिएँ, तर के गर्नु हात बाँधिएको छ ।”
संगीन अपराध गरेको अपराधमा रहमानलाई कैयौं वर्षको कैद सजाय भयो ।
उसलाई मैले विस्तारै विस्तारै बिर्सदै गएँ । हामीहरु जब आफ्नो–आफ्नो घरमा हरेक दिनको काममा गर्दै आरामले दिन बिताइरहेका थियांै, तब पहाडमा स्वतन्त्र घुम्ने मानिसले जेलको पर्खाल भित्र कसरी वर्षमाथि वर्ष बिताइरहेको होला, यो कुरा कहिल्यै हाम्रो मनमा आएन ।
चञ्चल हृदयकी मिनीको व्यवहार त अझै पनि लाजमर्दो थियो, यो कुरा उनको बाबुले पनि मान्नुप¥यो । उसले त बडो खरो ढंगले आफ्नो पुरानो साथीलाई बिर्सेर पहिला नबी सईससँग मित्रता गरिन्, फेरि जब–जब उनको उमेर बढ्दै गयो तब–तब साथी बदलिदै गए र एकपछि अर्की साथीहरु भेटिन थाले । यहाँसम्म कि अब उनी आफ्नो बाबाको लेख्ने कोठामा पनि देखिन्न थिइन् । मैले पनि एक प्रकारले उनीसँग कट्टी गरेको थिएँ ।
धेरै वर्ष बिते । फेरि जाडो आयो । मेरी मिनीको विवाहको कुरो छिनियो । दुर्गाापूजाको छुट्टीमा नै उनको विवाह हुनेछ । कैलाशवासिनी पार्वतीका साथसाथै मेरो घरकी आनन्दमयी पनि बाबुको घर अँध्यारो बनाएर पतिको घर जानेछिन् ।
बडो आनन्ददायक ढंगले आज बिहानै सूर्योदय भएको छ । बरसात पछिको जाडोमा नयाँ उदाएको घाम आगोमा गलाएको सफा र खरो सुनको रंग ग्रहण गरेझैं देखिएको छ । कलकत्ताको गल्लीमा भाँचिएका इँटा रहेका आपसमा जोडिएका– भत्केका भवनमा पनि यो घामको चमकले एउटा अनौठो सुन्दरता छरिदिएको छ ।
हाम्रो घरमा बिहान हुनुभन्दा अगाडिदेखि नै शहनाई बजिरहेको छ । मलाई लागिरहेको छ जस्तो त्यो शहनाई मेरो हृदयभित्र रुँदै बजिरहेको छ । त्यसको करुण भैरवी राग मेरो अगाडि नै रहेको बिछोडको पीडालाई जाडोको न्यानोसँगै दुनियाँभरी फैलाइरहेको छ । आज मेरी मिनीको विवाह हो ।
बिहानैदेखि बडो हल्लाखल्ला र मानिसको आउजाउ शुरु भएको छ । आँगनमा बाँस बाँधेर पाल लगाइँदैछ, घरको कोठामा र बरण्डामा झुम्मर झुण्ड्याएको टन–टन सुनिरहेको छ । अराइ–कराइको त कुनै अन्त्य छैन ।
म आफ्नो पढ्ने कोठामा बसेर खर्चको हिसाब लेखिरहेको थिएँ अचानक रहमान मेरो अगाडि आएर नमस्ते गरेर उभियो ।
पहिला त मैले उसलाई चिन्नै सकिन । उसँग झोला थिएन, उसको त्यो लामो लट्टेदार कपाल पनि थिएन र न अनुहारमा नै कुनै चमक थियो । अन्त्यमा उसको मुस्कानबाट मैले उसलाई चिनें ।
“के हो रहमान, कहिले आयौ ?” मैले सोधें ।
उसले भन्यो, “हिजो साँझ जेलबाट छुटें ।”
यो कुरा मेरो कानमा जोडले ठोकियो । कुनै हत्यारालाई मैले कहिल्यै आफ्नो आँखाले देखेको थिइन । उसलाई देखेर मेरो अन्तःकरण विचलित भयो । मेरो इच्छा थियो कि आज यो शुभदिनमा यो मानिस यहाँबाट जाओस्, तब धेरै राम्रो हुने थियो ।
मैले उसँग भनें, “आज हाम्रो घरमा एउटा जरुरी काम छ म त्यही काममा लागेको छु, आज तिमी जाउ ।”
सुन्ने वित्तिकै ऊ जान तयार भयो तर फेरि ढोका नजिकै गएर उभियो र केही संकोच मान्दै भन्यो, “एक पटक मुन्नीलाई हेर्न पाउँदिन ?”
शायद उसको मनमा यही धारणा थियो कि मिनी अझैसम्म त्यस्तै बनिरहेकी छिन् । या उसले सोचेको थियो कि मिनी आज पनि त्यसैगरी पहिला जस्तै ‘काबुलीवाला, काबुलीवाला,’ भन्दै दौडदै आउने छिन् र उनको हाँसो भरिएको अद्भुत कुरामा कुनै प्रकारले केही फरक आउने छैन । यहाँसम्म कि पहिलाको मित्रता सम्झेर उसले कागजको दुनामा थोरै किशमिश र बदाम शायद आफ्नो देशको कुनै पुरानो साथीसँग मागेर ल्याएको थियो । उसको पहिलाको झोला उसँग थिएन ।
मैले भनें, “आज घरमा काम छ । आज कसैसँग भेट हुनसक्दैन ।”
ऊ केही उदास भयो । स्तब्ध उभिएर मतिर एकटक लगाएर हेर्न थाल्यो फेरि ‘नमस्ते साहेब’ भनेर ढोका बाहिर निस्कियो ।
मेरो हृदयमा दयाको भाव पलायो । सोचिरहेको थिएँ कि उसलाई बोलाउँ, तब देखें ऊ आफैं फर्केर आइरहेको थियो ।
नजिकै आएर उसले भन्यो, “यी किशमिश र बदाम मुन्नीको लागि लिएर आएको हुँ, उनलाई दिनुहोला ।”
सबै कुरा लिएर मैले त्यसको दाम तिर्न चाहें, तब उसले एकाएक मेरो हात समाएर भन्यो, “तपाईंको उपकार म सधैं याद राख्नेछु, साहेब । मलाई पैसा नदिनुस्… । साहेब, जस्तो तपाईंकी छोरी हो, त्यस्तै मेरी पनि एउटी छोरी छ । म उसलाई सम्झेर तपाईंकी छोरीको लागि थोरै फलपूmल लिएर आउने गर्थें । म यहाँ कुनै सामान बेच्नको लागि आउँदिन थिएँ ।”
यति भनेर उसले आफ्नो खुकुलो कुर्थाको गोजीमा हात हालेर एउटा मैलो कागज निकाल्यो र बडो जतनले खोलेर दुवै हातले टेबलमा फिजायो ।
मैले देखें, कागजमा एउटा सानी बच्चीको हातको छाप छ । फोटो होइन, तैलचित्र होइन, सिर्फ हातमा थोरै कालो लगाएर त्यसैको छाप लिइएको छ । छोरीको यो सानो याद छातीमा संगालेर रहमान हरेक वर्ष कलकत्ताका गल्लीमा सुख्खा फलपूल बेच्न आउँथ्यो, त्यो नाजुक सानो हातको स्पर्श उसको बिछोडले भरिएको छातीमा अमृत घोल्ने गथ्र्यो ।
यो देखेर मेरो आँखा रसायो । फेरि मैले यो कुरा बिर्सिएँ कि ऊ एउटा काबुली खुद्रा व्यापारी हो र म कुनै उच्च घरानाको बंगाली । तब म यो अनुभव गर्न थालें कि जे ऊ हो, त्यही म पनि हुँ, ऊ पनि बाबु हो र म पनि । उसको पर्वतवासिनी सानी पार्वतीको हातको निशानीले नै मेरी मिनीको याद दिलायो । मैले त्यही समय मिनीलाई बाहिर बोलाएँ । घरमा यो कुरामा ठूलो आपत्ति आयो तर मैले कसैको कुरा सुनिन । विवाहको रातो बनारसी साडी लगाएर निधारमा चन्दनको टीका सजाएर दुलही बनेकी मिनी लाजले भरिएर मेरो छेउमा आएर उभिइन् ।
उनलाई देखेर पहिला त काबुली सकपकायो र आफ्नो पुरानो कुरा दोहो¥याउन सकेन । अन्त्यमा हाँसेर बोल्यो, “मुन्नी, तिमी ससुराली जान्छ्यौ ।
मिनीले अब विवाहको अर्थ बुझिसकेकी थिइन् । उनले पहिलाको जसरी जवाफ दिइनन् । रहमानको प्रश्न सुनेर लाजले रातो–पिरो भइन् र टाउको निहुराइन् । काबुलीसँग मिनीको पहिलो दिनको भेटघाट मलाई याद आयो । थाहा छैन मन कसरी व्यथित भयो ।
मिनी गएपछि एक लामो निश्वास लिएर रहमान त्यही जमिनमा बस्यो । अचानक उसको मनमा एउटा कुरा प्रष्ट रुपमा आयो कि उसकी छोरी पनि यही बीचमा यति ठूली भइन् होला र उनीसँग पनि उसले नयाँ ढंगले कुराकानी गर्नु पर्ला । उसले अब उनलाई फेरि पहिलाको रुपमा पाउने छैन । यी आठ वर्षमा थाहा छैन उसको के भयो होला । बिहानको समय, जाडोको उज्यालो कोमल घाममा शहनाई बज्न थाल्यो र कलकत्ताको एउटा गलीमा बसेको रहमान अफगानिस्तानको मेरुपर्वतको दृश्य देख्न थाल्यो ।
मैले उसलाई एउटा ठूलो नोट निकालेर दिएँ र भनें, “रहमान तिमी आफ्नो देश आफ्नी छोरी भएको ठाउँमा जाऊ । तिमीहरु दुवैको मिलन–सुखले मेरी मिनीको कल्याण हुनेछ ।”
यो रुपैयाँ दान दिइसकेपछि मैले विवाह उत्सवमा दुई चार चीज कम गर्नु प¥यो । मनमा जस्तो इच्छा थियो, त्यसरी बत्ती बाल्न सकिन । अंग्रेजी ब्याण्ड पनि मगाउन सकिन । घरमा आइमाईले असन्तोष प्रकट गर्न थालिन् तर मंगल–ज्योतिले मेरो यो शुभ आयोजन चम्कियो ।
अनुवाद : विनिता पौडेल
Please follow and like us:
61 Readers have read this post.

Related Post