मेरी लुखुरी – मन पौडेल

साहित्य नेपाल September 6, 2017 कथा

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् ।
काठमान्डूमा स्नातकको अन्तिम परीक्षाको तयारी गरिरहेको थिएँ, अचानक पहाडबाट बुबा सिकिस्त विरामीको खबर आएर कुदाकुद गर्दै गाउँ पुगेको त बूढा त टाठा, धाँईधुईं गरेर गाई पो दुहिरहेका । काठमान्डूमा एक्लै बस्दा बिगि्रन्छ रे भनेर केटीसेटी ठीकठाक पारेर बिहे गर्न पो बोलाएका रहेछन् । केटाकेटीमै बूढाले आफ्नो एउटा साथीलाई उनको छोरीलाई बुहारी बनाएर ल्याउने वचन दिएका रहेछन् मलाई च्याप्प पारेर इज्जतसिज्जतको कुरा गरेर स्वास्नी भिडाइदिहाले । मलाई केटीसेटी पनि देखाएनन् । बिहे गरेको भोलिपल्टै पठाई बिग्रेला रे भनर दुलही अगाडि लगाई मलाई काठमान्डू धपाई पनि दिए । मलाई बूढाले सोच्ने, केही भन्ने कुनै मौका दिएनन । म लुरुलुरु गुन्टा र दुलही अगाडि लगाउँदै काठमान्डू आइपुगेँ ।
काठमान्डू आएपछि पो मैले विचार गरेर श्रीमतीलाई हेरेँ । बूढाले त मलाई खुत्रुक्कै पारेका रहेछन् । मेरी श्रीमती त फिस्टी चरीजस्ती पो रहिछन्, फु गर्दा ढल्लिन जस्ती । म आफू पाँचफिट दश इन्च अग्लो मान्छेकी दुलही साढेचार फिटकी । कम्मर त जम्मा जम्मी एक मुठ्ठीको । मसँग हिँड्दा केटाकेटी हिँडेकोजस्तो । परेन फसाद ! बूढाले घाँडो भिराइदिहाले । अब के गर्नु र ! बाउको विरुद्ध जाने न संस्कार नै थियो न आँट । सुनमा सुगन्ध भनेकोजस्तो मेरी लुखुरीको अर्कै महान विशेषता थियो, निस्पट्ट, निरक्षर । म बहुलाउन मात्र सकिन ।
नयाँ बिहे गरेको, साथीभाईहरूले खान बोलाउन थाले । धेरैलाई टारेँ तर एउटा भोजमा नगई भएन । लुखुरीलाई पनि लिएर गएँ । मनमनै डर लागिरहेको थियो, के चर्तिकला देखाउने हो यसले आज भनेर । काठमान्डूको भोजभत्तेर कहिले देखेको भए पो । त्यसैले एउटा साथीकी दुलहीलाई जिम्मा लगाइदिएँ र ढुक्कको सास लिएँ । सब खाइरहेका थिए, उनी पनि हातमा प्लेट लिएर खाइरहेकी थिइन, जसोतसो गरेर । अचानक हलको पल्लो कुनाबाट उनी “हजुर हजुर” भनेर चिच्याउन थालिन् । सबैको ध्यान उनीतिरै आकृष्ट भयो । मेरो मुटुचाहिँ अब के उपद्रो गर्न थालिन् यिनले भनेर जोडजोडले धडकिन थाल्यो ।
मैले के भो भनेर उनीतिर हेरँे , हेर्नै पर्यो । उनको हातमा थियो न्यापकिन । त्यहि न्यापकिन बेस्सन हल्लाएर उनी सोधिरहेकी थिइन् “हजुर ! यो के गर्ने ? यो पनि खाने हो ?”
उनको कुरा सुनेर सारा गलल्ल हाँसे, मलाई चाहिँ कता लुक्न जाउँ जस्तो भयो । पछि घरमा आएर सम्झाएँ, हृवाँहृवा रुन थालिन् ।
मेरी लुखुरी मैयाँले अरु क्यै नजाने पनि पकाउन, ख्वाउन र घरधन्धा गर्न भने मज्जाले जानेकी थिइन् । त्यसैले हेाला, मेरो जीउ भने लाग्न थाल्यो । त्यो सम्म त ठीकै थियो तर बेलाबखत विचित्र विचित्रको उपद्रोले भने मलाई लाजमर्दो पार्न चाहिँ छोड्दिनथिन् ।
अब एक दिनको कुरा सुन्नुस् । एकदिन लुखुरी मैयाँलाई पनि काठमान्डू घुमाइदिनुपर्यो भनेर घुमाउन हिँडे । मोटरले किच्ला भनेर समातीसमाती घुमाएँ । पछि भोक लाग्यो होला विचरीलाई भनेर एउटा रामै्र रेष्टुरेन्टमा लगेँ । नाना भाँतिका खानेकुराहरू पिजा, बर्गर भएको ठाउँमा के खान्छेऊ भनेर सोधेको त समोसा जिल्फी पो भनिछन् । त्यतिबेला जिल्फी के पाउनु, समोसै ल्याउ भनेर अर्डर गरेँ । समोसा आयो, म काँटा चम्चाको सहयोगले खान थालेँ । उनले पनि मैले जस्तै गरेर समोसालाई चम्चाले काटेर खान खोजेकी, समोसा त बुदु्रक्क उपे्रर अगाडिको टेबुलमा बसेको भलादमीको नाकैमा लाग्यो । विचरो भलादमी यो के अचम्म भयो भनेर जिल्लिंदै थियो, मेरै लुखुरी दगुर्दै गएर टेबुलमाथि झरेको समोसा टिपेर आफ्नो टेबुलमा फर्किन्, केही नभएकोजस्तो गरेर । उता भलादमी रिसले जुरुक्क उठिसकेको थियो । म हत्त न पत्त उसको टेबुलनेर गएर क्षमायाचना गर्दै थामथाम थुमथुम पारेर आफ्नो टेबुलमा फर्कें र लुखुरीलाई घिसार्दै लिएर हिँडे । डेरामा फर्केपछि लुखुरी एक माना च्यूरा र नून खुर्सानी लिएर रुँदै खान थालिन् । मैले त एउटा समोसा खान भ्याएको थिएँ, उनी त भोकै थिइन् ।
लुखुरीको चर्तिकला कति बयान गरुँ । एकपटक एउटी दिदी पर्नेले बुहारीलाई लिएर आइज कि आइज भनेर साह्रै कराउनु भो जति टारे पनि टार्न सकिँन । “आज दिदीकहाँ जानु पर्छ, कोरीबाटी लुगा फेरेर बस्नु” भनेर अह्राएर हिँडे । पछि जाने बेलामा डेरामा आउँछु त लुखुरी त रामै्रसँग सिङ्गारपटार पारेर पो बसेकी रहिछन् । ठ्याम्मै मधेशतिर लोग्नेमान्छे आइमाई बनेर नाच्ने नटुवाजस्ती । मुख सेताम्मै, कमेरो दलेकोजस्तो । गालामा के दलेको हो, राताम्मै । ओठभरि त लिपिस्टिक लाएको हो कि के हो, जताततै पोतरेकोजस्तो । कपालमा हालेको तेल कन्चटमा चुहिरहेको थियो । त्यसमाथि बनारसी साडी । लुखुरी त सिङ्गारपटार गरेकी बाँदर्नीजस्ती देखिरहेकी थिई । त्यसमाथि मोटो न मोटो कोस तानेर लाएको गाजलले त झन् बौसी जस्तै लागिरहेकी थिई मेरी लुखुरी । म त तिनको रूप देखेर नहाँस्नै सकेँ न रुनै । उल्टो बरु आफ्नो कान समातेँ र तिनको आधुनिक भयङ्कर मेकअप पखाल्न लगाएर घरमै थच्चिएँ, दिदीकहाँ गइन ।
अब मेरी लुखुरीको पहिलो तीजको कथा सुन्नुस् । तीजको दिन निराहार पानीसमेत नखाएर वर्त बस्दिन । ए बाबा, एक मुठ्ठीको ज्यान छ, जल विनियोजन होला, पानी चाहिँ खाऊ भन्दा मरे मानिन् । दिउासो पशुपति लग्दे भनेर जिद्दी गरिन्, लग्दिनै पर्यो । एक्लै घाउ भनूँ, हराउलिन् भन्ने पीर । पशुपतिमा उनी पंक्तिमा लागिन् आफू के गर्नु !आइमाइको नाच हेर्न थालेँ । कति हेर्नु नाच । पाँच घण्टा कुर्नु पर्यो । लाइनमै ढलिन् कि भन्ने पीर उक्तिकै । बल्ल तल्ल असिनपसिन हुँदै आइपुगिन्, थकित मुद्रामा । म नाच हेरिरहेको थिएँ, उनलाई पुगियो । उनी पनि नाच्न थालिन् । जे होस् लुखुरी नाच्न चाहिँ गजब नाच्दी रहिछन् । जीउमा तागत छैन, अब ढल्लिन् तब ढल्लिनजस्ती भैसकिन् न नाच्न छाड्छिन्, न घर हिँडछिन् । आजित भएर जर्बदस्ती समातेर नाचबाट निकालेँ र एउटा ट्याक्सीमा चढाएँ । ट्याक्सीमा चढाएँ पनि, लुखुरी त लत्र्याकलुत्रु्क परेर बेहोसै पो भइन । मारेन । त्यहाँबाट डेरा जानुसाटो अस्पताल पुर्याएँ, रातभरित पानी चढाएपछि बल्ल तङ्िग्रन र बिहान डेरा पुगेँ ।
जब मैले स्नातकोत्तर प्रथम श्रेणीमा उत्तिर्ण गरेँ, लुखुरी साह्रै दङ्ग परिन् । मन्दिर गइन्, भाकलको लड्डु चढाइन् र मलाई लड्डु खवाउँदै विस्तारै भनिन् “मैले पनि पढ्न पाए हुन्थ्यो ” म दङ्ग परेँ ।
आज मेरी लुखुरी मेरो साम्राज्यकी एकाधिकार माल्किन, दुई छोराछोरीको सजग अभिभावक एउटा बुटिक चलाउँछिन र मलाई आफ्नो इशारामा नचाउँछिन् र म सगर्व उनकै वरिपरि नाच्छु रमाउँछु ।

 

मन पौडेल

Please follow and like us:
52 Readers have read this post.

Related Post