सौता

साहित्य नेपाल September 6, 2017 कथा

प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार प्रश्नले गिजोल्न लागेको थियो । परिस्थिति कल्पनाभन्दा बाहिर हुनुले पाँचसात रेक्टरका भुइँचालाहरू गइरहन्थे मन भित्रभित्रै । यी र यस्तै प्रश्नहरूलाई पछ्याउँदै त्यो सुदूर गाउँसम्म पुगेको थिएँ म ।

‘कमला खै त ?’ आमाको गोडामा घोप्टिँदै यताउता हेर्‍यो प्रमेशले ।

उत्तर आउनु अगावै छिनछिन चुरा बजाउदैं एक लज्जावती युवती हाजिर भई । प्रेम भरिएका प्रफुल्ल आँखाहरू प्रमेशतिर फाल्दै मतिर इसारा गरी उसले, ‘सगुन हैन ?’

‘हजुर !’ मेरा हात पनि जुम्ल्याहा भए ।

यस्तैमा हामी पिँढीको फलैंचामा पुगिसकेका थियौं।

‘लामो यात्राबाट आउनुभएको थाक्नुभएको होला ?’ मृदु मुस्कानकासाथ भित्र पसी ऊ । थाकेको त छँदै थिएँ । मन पनि वशमा थिएन । कस्तो-कस्तो लागिरहेको थियो । त्यो कस्तो-कस्तो के थियो मलाई नै थाहा थिएन । केही बेरमा लटक्क जमेको दही र अरू खानेकुरा लिएर सामुन्नेमा उभिई ऊ । नियास्रोले चाउरिएका अनुहार उज्यालो पार्दै हाम्रै अगाडि बसिरहनुभएको थियो आमा । टुसुक्क बसी ऊ पनि । मलाई झन् अप्ठ्यारो लागेर आयो । बोल्न लाग्दा शब्दहरू घाँटीमा आएर सुर्कने परेजस्तो भयो । लत्रिएको अनुहार देखेरै होला, बरण्डाको बिछ्यौना देखाउँदै आरामको लागि आग्रह गरी उसले ।

सामुन्नेको घना जंगलयुक्त पहाड, परबाट चिहाउँदै लुक्दै गरेजस्तो सेतो हिमाल, धन्सारसहितका टिनले छाएका घरहरू ….. । पवनको मन्दमन्द स्पर्शमा रम्दै बार्दलीको खाटबाट नियालेँ मैले । पश्चिममा पुगेका राता किरणहरू साँझ पर्न लागेको संकेत दिंदै थिए । वातावरण मोहक थियो तथापि मन शान्त हुन सकिरहेको थिएन । कताकता डराएकी थिएँ म ।

समय कटाउन कै लागि डायरीको पानामा रुमल्लिदै थिएँ । ‘सगुन जी ! खाना खान जाऔं’ झ्याउँकिरीको झ्याउँझ्याउँमा आफ्नो मसिनो स्वर मिसाउँदै छेवैमा आइपुगी ऊ । जूनको उज्यालोमा उसको छायाँ बार्दलीबाट आँगनसम्मै तन्किएको थियो । लामो सलक्क परेको कपाल, बुट्टेदार फरिया, टपक्क मिलेको चोली, मिलेको शरीर …. छायाँचित्र मै गाडिएछु ।

‘सञ्चो भएन कि ?’ दोस्रो पटकको झकझकाइमा आँखा ठोक्किए । कानमा झुम्का, हातभरि चुरा, गलामा लामो पोते, लाम्चो नाकमा टलक्क टल्केको फुली, भरी सिउँदो, सहृदयी अनुहार …. फेरि दौडिएँ उसैमा । त्यस्तै सत्ताइस अठ्ठाइसको उमेर हुँदो हो ।

‘धाँजा फाटेका पैताला, जिङ्रिङ्ग कैलो कपाल, टाटैटाटा भएको मैलो लुँगी, सुकेनास लागेको जस्तो जीउ’ कता मैले अस्पष्ट कल्पना गरेकी आइमाई कता यो ? आफ्नो कल्पना गलत सावित भएकोमा रिस उठ्यो मलाई ।

‘प्रमेशले खायो त ?’ कुरा छल्दै बोलेँ ।

‘भान्छामै हुनुहन्छ, सबैजना सँगै खाने भनेर नि ।’ मेरो हात च्याप्प समाउँदै हिडीं ऊ, आज्ञाकारी बालक झैं लुरुलुरु पछि लाग्नु मेरो नियती थियो ।

पिर्का तानेर मलाई दिंदै खाना पस्कन लागी ऊ । प्रमेश चुपचाप कुनामा बसेको थियो । आमा घिउको चम्चा घुमाउँदै हुनुहन्थ्यो । पालैपालो तीन प्राणीलाई हेर्दै थाल समाएँ मैले ।

‘घरमा को-को हुनुहुन्छ नि नानी ?’ प्रश्न आमाको थियो ।

‘बाबाआमा, भाइ, बैनी र म …..पाँच जना ।’

‘भनेपछि बाटो खुलाउने जिम्मा त नानीकै रहेछ नि, हैन?’

‘भन्नाले ?’ अकमक्क परेँ म । मुखसम्म पुगेको गाँस थालमै फर्कायो प्रमेशले ।

‘बिहे गरेर भाइबहिनीलाई पालो दिने बेला भएछ भन्नुभएको के आमाले ।’ प्रस्ट पारिदिई उसैले ।

के बोलुँ के बोलुँ भएर फिस्स हाँसें म ।

…………………………………………………..

‘अँ ! भोलि कुरा गरौला नि है ?’ केही बेरको मौनतापछि अत्तासिंदै बिछ्यौनामा पुगेँ ।

हुन त आमाको प्रश्न असाधारण थिएन तर मसँग भन्ने कुरा पनि थिएन । सहारा खोजे झैं सिरकभित्र गुट्मुटिएँ । अझ भन्दा आफूलाई त्यसभित्र अटाउन खोजें, बाँध्न खोजेँ । तर जति बाँधिदै जान्थेँ, थिचिदैं जान्थेँ मनको बाँध उत्ति फुक्दै जान्थ्यो ।

न गाउँकी, न त शहरकी केटी ‘म’ । गाउँलेको आँखामा शहरिया र शहरियाको आँखामा गाउँले भएरै मेरा किशोरवय र यौवनका प्र्रारम्भ आए, फक्रिए । मैले जानेको यति नै थियो कि, मेरा बाबुआमा संसारकै सबैभन्दा राम्रा बाबुआमा हुन् । म जान्दिनथें, कुन पीडाले वा कुन प्राप्तिले उहाँहरूलाई गाउँबाट शहरसम्म डोहोर्‍यायो ? हुन पनि उहाँहरूले हामीलाई कहिल्यै आफ्ना पीडाका कहानी सुनाएर अत्याउनु भएन । अभाव भोगेरै पनि हामीलाई त्यसको आभास हुन दिनुभएन । मात्र असीम स्नेह र उत्प्रेरणा बर्साइरहनुभयो । लाग्थ्यो, जीवन सुन्दर फूल रहेछ ।

कलेजका दिन सकिएपछि रोजगारीको खोजी यात्रा सुरु गरंे मैले । अखबारका पानादेखि गल्लीका भर्‍याङहरूसम्मको त्यो पट्यारलाग्दो यात्रापछि मलाई लाग्यो, कामको हैन नैतिकता र गुणस्तरको अभावले खिसि्रक्क परेको ठाउँ रहेछ ‘शहर’ । अनि अचेतन मस्तिक र राजनैतिक ऐंजेरुले ग्रस्त बस्तीको नाम ‘गाउँ’ ।

प्रगतिपथमा हिंडिरहेका साथीभाइ, बूढा हुँदै गएका बाबुआमा, हलक्क बढेर आफूभन्दा ठूला देखिएका भाइबैनी र बेइलमी आफू । के गर्ने र कसो गर्नेको दोधार, तीनधार, चौधारमै जीवनका उर्वर दिन, हप्ता, महिना र वर्षहरू चिप्लँदै थिए । आफू र आफ्नालाई पालैपालो हेर्दै गर्दा जीवनको पच्चिस वर्ष उड्न लागेको यथार्थले उठाउँदै प्रवास पुर्‍याए थ्यो मलाई ।

लन्डन, सपनाको नगरी । स्वप्निल तरङ्गमा पुगेँ म । तर सम्भ्रान्त शहरमा पुग्दैमा समस्याहरू छुमन्तर किन हुन्थे र ? त्यो बिरानो मुलुकमा कति दिन, के खाएर, के गरेर अडिने ? अडिए नै पनि आफू उड्दा-नउड्दै बैंकको नाममा उडिसकेको त्यो हाम्रो सानो घर कसरी निखन्ने ? फनफनी रिङ्ग्याउने समस्या छँदै थिए । कामको खोजीमा अन्जान सडकका पेटी र पार्कका कुनाकुना चहार्नु नयाँ ठाउँको नयाँ दैनिकी बन्यो ।

समय घर्किसकेको एक उदास साँझ उस्तै उदास पाइलाहरू घिसारिरहेको बेला हिँडाइको सार मिलाउँदै थपिए थप दुई पैतला । त्यो थियो, तीन वर्षदेखी उतै बस्दै आएको नेपाली युवक ।

‘केही कुराको जरुरत परे मलाई भन्नुहोस् है ?’ घरधन्दाका सारा काम सकेर अतिथि धर्म निभाउन आएकी हुँदी हो ऊ, म र्झलप्पै वर्तमानमा झरँे । तर किनकिन बोल्न मनै लागेन, निदाए झैं गरेर टारिदिएँ । उसका पाइलाहरू बडो उमङ्गका साथ पल्लो कोठातिर लम्के । मलाई भने त्यसैत्यसै झर्को लागेजस्तो मात्र लागिरह्यो ।

अकारण ऊ मलाई मन परिरहेकी थिइन । मन अमिलो भइरहेको थियो । ऊ पसेको कोठा प्रमेशको कोठा । आँखामा निद्रा आउने छाँटकाँट नै भएन बरु चुरीका आवाजमा मिसिएर साउतीका स्वरहरू आइरहे ।

‘पाँच वर्षपछि भेटिएका लोग्नेस्वास्नी कुराको पोको फुकाउँदै हुँदा हुन् ।’ आफ्नै अन्दाज पनि बडो नमिठो लागेर आयो । बेलाबेलामा उछिट्टएिर आइपुग्ने गुनगुन त्यो जोडीकै हो भन्ने पनि पत्याउन मन लागेन । थकित भएर कोल्टे फेर्दै गर्दा अस्ति भर्खरैका दिनहरू सिनेमाका पर्दामा झैं फुत्तफुत्त देखिन लागे ।

त्यो अन्तिम रात लन्डन बसाइको । क्विन म्यारी युनिर्भसिटीभन्दा केही भित्र तर माइल इन रोडकै लाइनमा बस्थे म । केही नजिकका साथीहरूसहित रमाउँदै थियौं हामी । चिसो मौसम, मिठो अनुभूति । पूर्वी तटबाट लहरिंदै आउने हावाको झोक्काले कपाल फिरफिर पारिरहेको थियो । अर्धगोलाकार चन्द्रमा मुसुक्क मुस्कुराइरहेको थियो । हुन त, बारम्बार देखेकी थिएँ मैले जूनलाई, अनि बढ्दै गएर भेटिएको पूर्णतालाई पनि । फेरि पनि त्यो रात खास थियो ।

‘सगुन ! चिया,’ म फेरि खग्रङ्ग भएँ । समय एकै हुँदो हो, दुई बिहानका । आफ्नो आशा र विश्वासको अन्त्य भएको कालो प्रभातको यादले झस्किनै लागेथें, भित्ते घडीको टिङटिङ आवाजले सचेत गरायो । तृप्तिका पाइला उचाल्दै पधेँरा हिंडिसकेकी थिई ऊ ।

‘पख्नुस् न’ म पनि पछि लागें । मिर्मिरे नै भए पनि धारो खाली थिएन ।

‘ओहो ! आज पनि पानी लिन आयौ ?’

‘यत्ति सखारै अँगालो खुकुलो पारिदियो प्रमेशले ?’ दौंतरीहरूको छेडछाडमा परी ऊ ।

‘उहाँको साथी सगुन’ मलाई देखाउँदै उम्किने जुक्ति लगाई उसले । मलाई भने उसको त्यो रातिएको गाला मनै परेन ।

एकातिर मलाई उसको अगाडि उभिन पनि असहज, असुरक्षित महसुस हुन्थ्यो । अर्कोतिर उसको मप्रतिको व्यवहार भने दिनानुदिन आत्मिय हुँदै थियो । खाना खाएपछि बाख्राका बथान अगाडि लगाएर गोठालो हिंड्थी ऊ । दिन ढल्दै लाग्दा फर्केर घरका सबै काम निम्ट्याउँथी । घरैमा धुम्धुम्ती बसिरहँदा जंगली भइने हो कि भन्ने डर । मनै नपरेर पनि धारा-पधेँरा, घाँसदाउरा र गोठालोमा उसको पछि लाग्नु मेरो बाध्यता थियो ।

यस बीचमा उसले सुनाउन भ्याएकी थिई, उनीहरूको मागी विवाह भएको थियो । ऊ आइए पढ्दै थिई । शहरबाट बीए पढेर फर्केको प्रमेश नजिकैको स्कुलमा पढाउँथ्यो । बिहेपछि थप अध्ययनको लागि दुवै शहर जाने कुरा पनि भएको थियो तर आमालाई एक्लै छाड्न मन भएन । अनि सहमति भयो, एकजनाले घरव्यवहार चलाउने, अर्कोले पढ्ने । प्रमेशले उसैलाई पढाउन चाहेको थियो तर उसले पनि जिद्दी छाडिन । अतः गाउँ होइन, देशै छाड्यो प्रमेशले ।

ऊ सुनाउँथी, सुनाइरहन्थी पतिपत्नीबीचका प्रेमिल किस्साहरू । भन्थी, ‘प्रेम भनेको यस्तो तत्व हो जसमा केही नभएर पनि धेरै कुरा भइरहेका हुन्छन् । यसलाई साथ मात्रले पूर्णता दिंदैन । सम्मान/समर्पण चाहिन्छ ।’

‘तपाईं सधैं घरधन्दामा, प्रमेश बाहिर । तपाइर्ंहरूबीच प्रेम ?’ आशंका पोख्थें म, आफ्नै मनको शान्तिका लागि ।

हार्दिकतावश बोल्थी ऊ ‘त्यही त फरक छ प्रेम भएजस्तो हुनु र हुनुमा । कर्तव्य र जिम्मेवारीले त एकअर्काको अझ नजिक ल्याउँछ नि दुई प्रेमी मनलाई । त्यो मेरो हो र जे गरिरहेछ मेरै लागि गरिरहेछ भन्ने भावना नै यथेष्ट हुन्छ एक अर्कामा जोडिइराख्नलाई ।’

उसको कुरा नै डाहालाग्दो हुन्थ्यो । भित्रभित्रै कुँडिएर कुनै अर्को प्रसङ्ग खोज्थें म ।

सालका सुकेका पातहरू सोतरको लागि थुन्चेमा भर्दै एकदिन सुनाएकी थिई उसले, ‘हररात सपनामा एकअर्कासँग भेट्ने वाचा गर्थे रे उनीहरू । कुरा हुन नसके पनि घन्टौं मिलकसको दोहोरी चलाउँथे रे ।’

साह्रै सादा सफा दिल भएकी केटी थिई ऊ । फरासिली र जाँगरिली पनि त्यस्तै । आमाको साह्रै नजिक थिई । पति-पत्नीबीच त्यति बोलचाल भएको नदेखिए तापनि गहिरो प्रेम थियो कि ? गमक्क थिई ऊ । उसका यी असल पक्षहरू मेरा लागि भने दुःखका कारण बनिरहेका थिए । इष्र्यालु बन्दै गइरहेथंे म ।

म पुगेको हप्ता दिनपछि हुनुपर्छ, भिन्न हावा चलेको थियो गाउँमा । त्यसको प्रभाव घरसम्मै आइपुगेछ, सबैका मुख कुच्चिएका थिए । यो हुण्डरी बोकेर आएकी थिई ‘श्यामेको कान्छी पत्नी, जो आमा भन्न सुहाउँदी थिई ।’

प्रमेश दिनभर कहाँ थियो मलाई थाहा भएन, बेलुकी लुरुक्क परेर भान्छामा छिर्‍यो । खाना पस्कँदै गर्दा प्रसङ्ग फेरि बिउँझियो ।

‘मान्छेको फेला नपरेका चण्डालहरू,’ ऊ क्रुद्ध थिई ।

‘प्रेम गर्छु भनेर कहाँ हुन्छ र ?’ सानो स्वरमा आफ्नो कुरा राखें मैले ।

‘प्रेमको अर्थ जानेकी छौ सगुन ?… प्रेमले त मनसँग मन जोड्छ, अर्काको छँदाखाँदाको घरसंसार उजाड्ने पनि कहीं प्रेम हुन्छ ?’ आक्रोश थियो उसको आवाजमा ।

‘आफ्नै सौता आए झैं पो गर्नुभो तपाईंले ….?’ भन्न नहुने कुरा अनायसै फुस्कियो ।

‘के अनाफ-सनाफ बोलेकी ?’ लौ ! आमा पो जाइलाग्नुभयो, ‘प्रेम र कर्तव्यको मर्यादा राख्न नसक्ने मान्छे के मान्छे ?’

‘अरूको दिल दुखाउनेहरू कहिल्यै खुसी हुन सक्दैनन् सगुन’, आँखाहरू दलिनतिर टाँस्दै कुरामा कुरा थपी उसले ।

‘मेरो मतलब त्यो थिएन, मैले त केटीलाई थाहा नभएको पनि हुन सक्छ भन्न खोजेकी,’ डराउँदै-डराउँदै त्यो अन्जान आइमाईको पक्ष लिएँ मैले ।

‘त्यो त थाहा पाइ-पाइ आएकी रे, कुवेतमा सँगै काम गर्थी रे । कम्तीमा पनि आफ्नो उमेरको त ख्याल गर्नुपर्ने नि,’ आमा फेरि राँकिनुभयो ।

‘कुरा जे भए पनि अब एक गल्तीको सजाय जिन्दगीभरि चुकाउनुपर्छ त्यसले, महाअभागी त्यो झन्’ उसका ओठहरू काँपिरहेकै थिए ।

मलाई भने ऊदेखि पो रिस उठिरहेको थियो । त्यो रिस थियो वा अपराधबोध म जान्दिन । प्रमेश ढुङ्गा झैं प्रतिक्रियाविहीन ।

तिक्ततामै भान्छा उठ्यो । मलाई एकदम नरमाइलो लागिरहेको थियो । ती सबै गाली मैमाथि बर्सिएको अनुभूति हुँदै थियो । पराइघरमा खानु परेको वचनले तरल भएकी थिएँ म ।

‘रिसायौ कि ?’ आवाज उसैको थियो । ‘यो पुरुषप्रधान समाज हो सगुन, जसले जे भने पनि बदनाम हुने र यातना भोग्ने त केटीले नै हो’ मेरो जवाफ नै नपर्खी थपी उसले ।

‘मेरी साथीले त्यस्तै एक हर्कत मात्र गरेकी भए,…. ‘ल जे भयो भयो, मिलेर बसौं’ भनेर त्यसलाई माफी दिइन्थ्यो, कदापि दिइन्नथ्यो ।’

म बोल्न नसक्ने भएकी थिएँ ।

भिजेका परेला पुछ्दै गडेर हेरी उसले । ‘तिमी नै भन न, जुन घरमा जुन मान्छेको नामको सिन्दुर पहिरिएर, वर्षौदेखि उसैको घर, बाबुआमा, बालबच्चा स्याहारेर, सम्हालेर बसेकी, सबैले रोजेर, खोजेर ल्याइएकी पत्नीको त यो हाल भयो भने त्यो नयाँ आइमाईको के होला ? त्यसको त न माइती आफ्ना रहलान् न घर ? …….. भगवान्ले त्यसो नगरून् ।’

रोकिइ-रोकिइ बोलिरहेकै थिई ऊ । अनुहारका नशा फुलेजस्ता देखिन्थे ।

‘मसँग नरिसाऊ बिन्ती । म मेरी संगिनीको पीडाले फतक्क गलेको छु’ एक निःश्वास फ्याँक्दै बिस्तारै उठी ऊ ।

त्यो हिडाइमा अर्कै के थियो, ऊ गएको हेरिरहन मन लाग्यो मलाई । साँच्चै उसका शब्द-शब्द मार्मिक सत्य बोकेर ओर्लिएका थिए । विदेशी भूमिमा एकसाथ रहँदाबस्दा एकअर्काप्रति जन्मिएको लगावलाई प्रेम मानेर, कत्रो गल्ती गर्न लागेकी रहेछु मैले ? नेपाल र्फकने दिन, इन्गेजमेन्टको भोलिपल्टको बिहान नेपथ्यको पर्दाबाट छुसुक्क चिहाएको हुनेवाला जीवनसाथीको विवाहित छबि अनि आफूले आवेगमा रोज्न लागेको कालो बाटो रातभरि कोपर्न आइरहे । त्यो भन्दा बढी मैले कहिल्यै मन पराउन नसकेकी एक गाउँले युवतीमा निहित आत्मसम्मानको चेतले लज्जित भइरहें म ।

मैले गरें भनेको प्रेम ‘फगत आकर्षण’ प्रमाणित गरिदिइसकेको थियो, सुरुको रातदेखि नै छेउको कोठाबाट छुस्सछुस्स छुन आइपुग्ने विनोदी गफले । प्रमेशको हराएको बोलीले । र उसको सबन्धप्रतिको सम्मान र निष्ठताले ।

अर्को बिहान, ऊ पधेँराबाट र्फकनुअघि नै आफ्नो औंलाको औंठी फुकालेर प्रमेशको हातमा राखिदिंदै आँगनबाट ओरालो झरें म । केही पर पुगेर हेर्दा आमासँगै बिदाइको हात हल्लाइरहेकी थिई ऊ । गलाको तिलहरी र सिउँदोको सिन्दुर कति राम्रो सुहाएको उसलाई, इष्र्या हैन अगाध श्रद्धा जागेर आयो ।

म एकदम हलुङ्गो भएकी थिएँ, मानौं उडिरहेको थिएँ । सायद ! त्यो उषाको पहिलो लाली मेरै नामको थियो ।

Please follow and like us:
59 Readers have read this post.

Related Post