साहित्य समाचारस्मृति

‘यात्री’ ज्यूको दार्शनिक अभिव्यक्ति – सत्यमोहन जोशी

कस्तो बिडम्बना ! निकटतम सम्बन्ध र सम्झनाहरू पनि समयको प्रवाहमा ओझेलमा पर्दै जाने रहेछ । तर प्रसँग वा घटनाक्रमहरू ब्युतेर आउँदा तिनै सम्बन्ध र सम्झनाहरू इतिहासका पाना बनेर देखापर्ने रहेछन् । यसै परिप्रेक्ष्यमा कल्याणमित्र वासु रिमाल यात्रीको त्यो स्थूल शरीर (आर्यघाटमा जलेर भष्म भइसकेको तथा बगेर सायुज्यरूपी गङ्गासागरमा पुगिसकेको) मेरो आँखाको नानीमा झलझली हुन थाल्छ ।

हो, एकताका उनी बालमन्दिर नक्सालबाट प्रकाशन हुने बालक मासिक पत्रिकाका सम्पादक थिए । म उनलाई बराबर भेट्न जान्थेँ- बालकविताहरू बोकेर । चिनजानी भएपछि उनीसँग साहित्यिक नाता विकसित भयो । २०१९ सालतिरको कुरो हो । नेपाली साहित्य संस्थानबाट पूर्वाञ्चल विराटनगरमा आयोजित चौथो देशव्यापी साहित्य सम्मेलनमा भाग लिन जाँदा काठमाडौँबाट विराटनगर जाने यात्राको बखत हामी सँगसँगै नै थियौँ, सम्मेलनको अवधिमा पनि हामी सबै कोठामा सँगसँगै नै थियौँ ।

कुरो फेरि २०३० सालतिरको हो । क्रान्तिका लहरहरू नामक कविताहरूको सँगालो मैले निकालेको थिएँ । मेरा लागि यात्रीज्यूले ‘क्रान्तिका लहरहरूमा पौडँदा’ भन्ने शीर्षकमा एउटा लामो भूमिका लेखिदिए । उनको दार्शनिक व्यक्तित्वले मलाई निकै प्रभावित पार्यो । आज उनैका बारेमा प्रकाशित यो स्मृतिग्रन्थका लागि उनैका शब्दमा पोखिएका ती अमर अभिव्यक्तिहरूको केही अंश हुबहु यहाँ उतारेको छु।

“एक चोटि स्वामी विवेकानन्दले एक जना मित्रकहाँ वाल्ट ह्विटम्यानको घाँसका पातहरू शीर्षक कवितासङ्ग्रह पढ्ने मौका पाए । एउटा दार्शनिकलाई पनि एक कविको सो कृतिले यति प्रभावित पार्यो कि उनले वाल्ट विटम्यानको मुक्तकण्ठले प्रशंसा नगरी रहन सकेनन् । विटम्यानको सफलताको खास कारण थियो । त्यस समयतिर अमेरिकामा वेदान्तमा अभिरुचि हुनेहरूको एउटा संस्था (ट्रान्सिडेन्टलिज्म)

खुलेको थियो । इमर्सन, थेरो, स्विटम्यानजस्ता अध्यात्मप्रेमी त्यसका सदस्य थिए । दार्शनिक छलफल, प्रवचन, गोष्ठी आदिमा भाग लिनाले स्विटम्यानको कवि दार्शनिक बनिसकेथ्यो र विवेकानन्दले त्यही दार्शनिकलाई चिने । विवेकानन्द आफैँले पनि आध्यात्मिक प्रेरणाको बेलामा कविता लेखेथे । त्यस्तै अरविन्दको सावित्री महाकाव्य (अङ्ग्रेजीमा) एउटा महान् योगीको काव्यात्मक अभिव्यक्तिका रूपमा प्रसिद्ध छ । सङ्क्षेपमा उत्कृष्ट कविता दुई प्रकारले जन्मन सक्छ
(क) कविले दार्शनिक बनेर लेख्दा र
(ख) दार्शनिकले कवि बनेर लेख्दा ।
दोस्रो प्रकारबाट जन्मेका कविताको सङ्ख्या पहिलो प्रकारका कविताको तुलनामा कम देखिन्छन् । दर्शन र कविताको सन्तुलन कसरी मिलाउने कविलाई जति थाहा हुन्छ, त्यति दार्शनिकलाई थाहा हुन्न । यही कारणले गर्दा थोरै दार्शनिक कवि बनेका पाइन्छन् भने दार्शनिक बनेका कविहरूको सङ्ख्या थोरै छैन ।

नेपालीमा योगी अम्बर गिरी जस्ता अद्वैतवेदान्ती लेखक पाइन्छन् (प्राचीनकालतिर), तर दर्शनपरक कलात्मक आधुनिक कविताहरूको थालनी चाहिँ लेखनाथले गरेका हुन्- यसमा कुनै शङ्का छैन । उनको जीवनचङ्गा, जीवनज्योति, सत्यसन्देशजस्ता फुटकर कविताहरू र तरुणतपसी (नव्यकाव्य) यसका उदाहरण हुन् । तरुणतपसीपछि नाम लिन सकिने यस्तै प्रकारको सुन्दर काव्य माधवप्रसाद देवकोटाको ‘हुस्सु पथिक’ पनि हो । लक्ष्मीप्रसाद देवकोटाका यात्री, मार्गमा दर्शनका झिल्काहरू पाइन्छन् भने कविले सुलोचना (महाकाव्य) मा त दार्शनिक वादविवाद नै प्रस्तुत गरेका छन् । अन्त्य समयमा पनि देवकोटाले “आखिर श्रीकृष्ण रहेछ एक” भन्दै अनेकसँग बिदा लिएको बिर्सन सकिन्न । बालकृष्ण समको ‘मेरो ब्रह्मको कविता’, म.वि.वि. शाहको ‘यौटा मेसिन’ पनि दर्शनपरक कविताका रूपमा निकै प्रसिद्ध छन् । यही परम्परामा केही नवीनताका साथ क्रान्तिका लहरहरू देखा परेको छ ।”

(क्रान्तिका लहरहरू, पृष्ठ ख-घ बाट) आज हाम्रो माझमा वासु रिमाल ‘यात्री’ हुनुहुन्न । तर उनले व्यक्त गरेर जानुभएका उनका दार्शनिक व्यक्तित्व र विद्वत्ता दर्शाउने उनका अमरत्वले ओतप्रोत भएका विचारधाराहरू सदा जीवन्त नै छन् । यसका निमित्त प्रस्तुत स्मृतिग्रन्थ साक्षी बनिरहनेछ ।

Back to top button