कविताब्लगसाहित्य समाचार

मन्जु र उसको चिया – नविन क. नेपाली

सहरै सहर, लासै लासको भिडमा
सबै हृदय फुटाएर रुदै आँसु झार्दै गर्दा
मुहारमा एक पाउ हासो च्यापेर चिया बेच्दै हिड्छे मन्जु।

सबेरै पशुपतिको शिरमा घामका छर्रा पर्न नपाई
उठ्न हत्तार हुन्छ उसलाई।
दाहिने हातमा दुधको अनि देब्रेमा उसको जिन्दगी जस्तै फिक्का चिया बोकेर भन्दै हिड्छे मन्जु,
“भाइ, एक कप चिया खाउन, दिदी चिया खाउन, दाइ चिया खाउन।
मीठो छ, खाउन है।”

सबै सबै फनक्क मुख मोड्छन्, नदेखे झैँ गर्छन्।
उ भने हरेक पटक घुमेको घुमै गर्छे।
जोडी-जोडी बसेका हुन्छन्, कसैले मजाक उडाइदिन्छ।
अनि केही नभनी फिस्स हासोले अनुहार भर्छे मन्जु।
उसलाई कुन बेला कहाँ भिड हुन्छ, कसैले नभनी चिया माग्छ, अनुहार हेरेरै थाहा हुन्छ।
कता बसे बढी व्यापार हुन्छ, कसरी बोले मीठो लागेर चिया पिउछन्, सबै थाहा छ।
कुन जोडिले कुन चिया पिउछ, सबै थाहा छ।

मन्जु: भाइ, चिया खाउन ☕, चिसो पनि छ ❄️, एक कप त खाउन मेरो भाइ।
ग्राहक: सरी, दिदी, मन त हो तर पैसै छैन 😔।
मन्जु: यस्तो हैंडसम, जवान भएर पनि जाबो चिया खाने पैसा छैन भन्दा लाजै हुन्छ है, भाइ 😅।
ग्राहक: कस्सम्, दिदी, खल्तिमा ५० रुपैयाँ छ, घर जाने भाडा नै लाग्छ यति त 😓।
मन्जु: यत्रो जना छौं, एक कप त खाउन न भाइ, मैले गिलासमा हालिसके 🥺।
ग्राहक: हैन, दिदी, कस्सम् छैन, पर्स हेर्नु ल बरु, म तपाईको लागि एउटा कविता लेखिदिन्छु ✍️, ल फ्रीमा दिनु न त 😊।
मन्जु: मेरो लागि कविता लेखेर के काम छ र, भाइ? पच्चिस रुपैयाँ मात्र हो, खाउन न मेरो बाबु 🙏।
ग्राहक: ल, तेसो भए तपाईको नाम भन्नु अनि खाइहाल्छु म 😃।
मन्जु: मेरो नामले के हुन्छ र 🤨?
ग्राहक: हैन, भन्नु न, काम लाग्छ 😏।
मन्जु: मन्जु कार्की, यतै नजिकै बस्छु 😊।
ग्राहक: ल, दिदी, अर्को चोटि पशुपति आउँदा फेरि भेटौंला, त्यतिबेला हजुरलाई केही कोसेली बोकेर आउँला 🎁।

यस्तै छ दैनिकी।
उ नबिकेको चिया हेर्छे अनि हेर्छे पुलुक्क बल्दै गरेको लास।
सोच्दै बस्छे जुटाउँछे सानो छोरालाई गासबास कपास।
बिहान-बेलुका झरि होस् या चिसो बढोस्, उसलाई एउटै ध्याउन्न हुन्छ।
“मेरो चिया बिक्छ कि बिक्दैन।
छोरो पढ्दै छ, स्कोलरशिपमा नाम झिक्छ कि झिक्दैन।
बिहान नबिकेको यो आँशुको झोल बेलुका बिक्छ कि बिक्दैन।”
यहि मात्रै चल्छ दिमागमा।

मन्जुलाई धेरै हत्तार छ।
बिहान चारै बजे उठ्छे।
उम्लिँदै गरेको चियामा मिसाउँछे थोरै पानी, थोरै रहर अनि थोरै दुख।
उसलाई बिहान कहिले हुन्छ भन्ने मात्र ध्याउन्न हुन्छ।
खैर, मन्जु मूर्ख नै त हो।
उ बस् एउटै बीस, दसको पैसाको बिटो निकाल्छे, गन्दै, राख्दै, झिक्दै, गन्दै, पट्याउँदै बस्छे।
छोरो भोकै होला साँझ भनी त्यही चिया र पाउरोटिमा रमाउँछे।
उ भोकलाई गिज्याउँछे अनि भोक उसलाई गिज्याउँछ।
तेति बेला सम्झिन्छे, अरबबाट बाकसमा फर्केको बूढो।
धेरै बेर एकोहोरि रहन्छे अनि आफैँ झस्किन्छे।

उसलाई ‘शपिङ’ के हो थाहा छैन।
‘मल’ के हो थाहा छैन।
‘आईफोन’ले पनि फोन गर्न मिल्छ थाहा छैन।
‘फेसबुक’मा टाइम-टाइममा पोस्ट हाल्नु पर्छ थाहा छैन।
उसलाई कपडा फाटेपछि सिलाउन पर्छ भन्ने थाहा छैन।
फाटेको चप्पल फालेर नयाँ किन्न पर्छ थाहा छैन।
डाक्टरले दिएको ६ महिनाको औषधि खाना पछि खाने थाहा छैन।
भन्छे, “कपडा के भो र, शरीरै ढाक्नु त हो।
यो लोते चप्पल फाटे के भो र, बेलुका मैन बत्तिले पोलेर टाँस्नु न हो।
आज भइगो, भोलि त यो औषधि खाना पछि खाने त हो।
भोलि चाहि खाना पछि नै खाउला।”

यो साला जीवनले कति सिकाउँछ।
म सबै स्वीकार्न तयार छु।
अभागी जन्मेछु म औंसीको दिनको, के के हुन्छ म सबै भोग्न तयार छु।
यस्तै कुरा गर्दै भक्कानिन्छे उ।
फेरि सम्झिन्छे “म छिट्टै आउँछु” भनेको बूढो।
अनि खाटमा पल्टिन नपाउँदै फुसुक्क निदाउँछे पुन्टेलाई च्यापेर।
उठ्छे फेरि बिहान, छोरोलाई चिटिक्क पारेर स्कुल पठाउँछे।
अनि फेरि सुरु गर्छे पशुपतिको काखमा सङ्घर्ष।
मन्जु चिया बेच्छे।
थर्मस् उसको जीवन।

✍️ नविन क. नेपाली

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button