बिगत सम्झिँदा – रबि शिखा
जिन्दगि आफ्नै गतिमा चलिरहेको छ। सकि नसकी जिन्दगिले हिँडाइ रहेको बाटोमा पाइला चाल्दै छु म पनि। ती पाइला कतिखेर ढल्पलिन्छन्, कतिखेर डगमगाउँछन्, कतिखेर आफै देखि चित्त नबुझेर आफै सङ्ग पौठाजोरी खेल्दै रन्थनिन्छन्। जिन्दगिमा आउने हरेक अदृश्य मोडहरुले नयाँ नयाँ आयाम थपी दिन्छन् । कतिपय अवस्थामा ती आयामहरुले खुसिको अतिबृस्टी गरि दिन्छन् भने कहिले अनाबृस्टी पनि गरि दिन्छन् । यस्तै लड्दै उठ्दै जिन्दगी जेनतेन सुस्त सुस्त चलिरहेको छ।
आफुले कस्तो जिन्दगी जिउँने त्यो आफैमा भर पर्छ र कसरी जिउने त्यो पनि आफैमा भर पर्छ। जबदेखि अक्षर हरु संगत गरे तबदेखी एक्लिनु परेको छैन्। हरेक एक्लिएका पलहरुमा म आफैलाइ भेट्छु, हरेक हाँसोहरुमा आफ्नै लय भेट्छु हरेक आँशुहरुमा पनि आफ्नोपन को आभास गर्छु। थाहा छैन अक्षर हरु सङ्ग खेल्दा जतिको चरम सन्तुष्टि म अरु काम गर्दा सायदै पाउँछु। यी अक्षर हरुले म भित्रको म लाई पनि राम्रो सङ्ग बुझ्ने मार्ग खाली गरि दिएको छ। हरेक अवस्थामा अक्षर हरुले आफ्नै प्रकारको भाव सहितको बर्णन गरि रहेका हुन्छन् । र ती बर्णन हरु भित्र म आफैलाई देख्छु।
म सम्झिन्छु, पुसको चिसो अनि शितले चहराइ रहेको बिहान सुर्योदय हुनु भन्दा घन्टौ अघि आँखा खोलेर सिरक भित्र गुट्मुटिएर स्वप्निल कल्पनामा डुब्नुको आनन्द । अनि उज्यालो लाई व्यग्र प्रतीक्षा गरि रहेको त्यो समय। जुन समयमा बुवा दूध बेच्न भारतको बलुवाकोट सम्म जानू हुन्थ्यो। सायद रेडियो नेपाल पनि भर्खरै उठेर पसुपतिनाथको आराधना बजाएर सबैको निन्द्रा बिउँझाउन आउथ्यो। त्यो सङ्गै बुवाका आँखा खुल्थे अनि त्यसपछि मेरा। म चिसो ले आच्छु आच्छु हुँदै शिरकले बेरिन्थे भने बुवा चिसो नमानी उठेर हातमुख धुन निस्कनु हुन्थ्यो। त्यतिबेला सोच्थे आहा यसरी बिहानै बजार जान पाउनु पनि कम्ता खुसिको कुरा होइन। आजभोली सोच्छु र त्यतिबेलाको अबोध बालापन लाई प्रश्न गर्छु, त्यतिबेला बुवाले चिसो बिहान नभनी एक झोला दूध बेचेर एक पाथी खुसी किनेर नल्याएको भए म याँ हुन्थे त ?
म सम्झिन्छु, आमाले स्कुल जा भन्दा दाँत दुख्यो भनेर बहाना बनाएको। म सानो छँदा स्कुल जान ज्याँदै अल्छी मान्थे। अनेक बहाना बनाएर घरै बस्न चाहान्थे। आमा दिदिहरु सङ्गै स्कुल पठाउनु हुन्थ्यो। जति जति स्कुलको दुरि नजिकिदै जान्थ्यो मेरो मस्तिष्क बहाना खोज्न रफ्तार हुन्थ्यो। जब बिहान स्कुलको घन्टी बज्थ्यो मेरो दाँत बेस्मारी चड्किन्थ्यो अनि मेरो आँखाबाट आँशु बग्थे। अनि सर दिदिलाइ भन्नू हुन्थ्यो यसलाइ घर लैजाउ चिसोले पनि दुखेको हुन सक्छ। यसरी म दिदिको समेत क्लास छुटाएर घर ल्याउँथे। जति जति स्कुलको दुरि घट्दै जान्थ्यो त्यति त्यति मेरो दाँतको दुखाइ पनि कम हुँदै जान्थ्यो। घर पुग्दा त दुखाइ सफाचट। यो प्रक्रिया तीन दिन सम्म चलाए चौथो दिन पनि घर आए यसरि नै। आमा त आगो, सिस्नोले बेस्सरी चुट्नु भयो, त्यै दिन देखि त मेरो दाँत दुखाई चैट। सिस्नो देख्दा अझैपनी पुरै शरीर झम्झमाउँछ। अहिले दुई दशक उमेर कट्दा पनि सिस्नो भन्यो भने चार बित्ता परै डर लाग्छ।
म सम्झिन्छु, पुरानो घर सानो भयो भनेर नयाँ घर बनाएको। नयाँ घर बनाउँदा अस्थायी टहरा बनाएर हामी घर छेउ बस्न थाल्यौ। घर गोठ सम्म बनाइ सकेका थियौँ। त्यसैमाथी तला थलेर तलपट्टि गाइबस्तु र माथी पट्टि हामी बस्ने ब्यवस्था मिलाउने हिसाबको घर बन्दै थियो। ठ्याक्क त्यतिबेला टाढा हाम्रो पुर्ख्यौली गाउँमा कोइ बित्नु भयो। बुवा जुठो बार्न उता लाग्नु भयो घरमा हाम्रो हरिबिजोग। एक्लि आमाले कता कता भ्याँउनु। गाई बस्तु हेर्नू कि, मिस्त्रीलाइ गारोपातो हेर्नू कि घाँस दाउरा हेर्नू कि कता हेर्नू भ्याइ नभ्याइ हुन्थ्यो हामी सबैलाइ। सायद फागुन/ चैतको मैना थियो क्यारे त्यो। त्यतिबेला पानी खुब पर्यो हाम्रो घर त आधा मात्रै बनेको । हामी गाइबस्तुलाइ भनेर बनाएको गोठमा बस्थ्यौ। माथी छानो हालेको थिएन। खुब चुहिन्थ्यो, रातभरी हामी यता उता सर्दैमा उज्यालो हुन्थ्यो। अँ साच्चि म त्यतिबेला कक्षा तिनको बार्षिक परीक्षा दिइ रहेको थिए।
म सम्झिन्छु, त्यै घर लगाएकै बर्ष घर बनाउन भनेर बुवा र म ढुङ्गा फुटाल्न जान्थ्यौ। म आडो( ढुङ्गा फुटाउन प्रयोग गरिने एक साधन जसमा घन ले हिर्काइन्थ्यो) समात्थे र बुवा घन बजाउनु हुन्थ्यो। एकचोटी घन हान्दा आडो उछिट्टिएर औंला पुरै रगताम्ये भएको र आमाको सेतो पटुकी च्यातेर औँला बाँधेको।
म सम्झिन्छु, चार/पाँच कक्षा पढ्ने बेला हो सायद, हाम्रो स्कुलमा घाम पर्दैनथ्यो। सारो चिसो हुन्थ्यो, त्यै भएर घरबाटै आमाले टोपी लगाएर जा भन्नू हुन्थ्यो। टोपी त थियो तर बा ले लगाउने त्यति बेलाको मात्र। त्यो टोपिलाइ बूढो टोपी भनिन्थ्यो। स्कुल मा म मात्र हुन्थे त्यस्तो टोपि लगाउने, साथी हरु जिस्काउँथे। म जिस्काइ खप्न भन्दा चिसो खप्नु राम्रो मानेर घर बाट टोपी लगाएर जान्थे अनि बाटोमा लुकाएर घर फर्किने बेला झिकेर लाउथे। एकदिन पनि त्यसरी नै लुकाए टोपी। स्कुलबाट फर्किदा त टोपी छैन्, यता उति खोजे भेटिन। होस् भनेर घर आए टोपी त्यै अलमारिमा थियो जहाँ रेडियो हुन्थ्यो। पक्कै पनि बुवाले भेट्टाएर ल्याउनुभको होला। तर बुवाले मलाई केही भन्नू भएन, बुढा बिर्सिएका होलान् नत्र के छोड्थे र ?
म सम्झीन्छु, गौरा को बेला मामा घर बाट हजुर बा आउनू हुन्थ्यो। म हजुर बा आउँदा खुब खुसी हुन्थे किनकी उहाँले मलाइ पाँचको नोट दिनु हुन्थ्यो र गौरामा चस्मा अनि सिट्टि किनि दिनु हुन्थ्यो। मलाई लाग्थ्यो मेरा जस्ता हँसिला हजुर बा अरु कसैका छैनन्। सानो छँदा खुब रमाउने म पछि बुझ्ने हुँदा त हजुर बा यो संसारमा हुनुहुन्न्थ्यो। उतिबेला खुब सताउथे हजुरबा लाई, अहिले पछुतो लाग्छ।
यी र यस्तै अभाव र घतलाग्दा क्षणहरुले अक्षरको सङ्ग संगत गर्न सिकाए। सायद बालापनमै यस्ता परिस्थिती गुजारेको भएर पनि हुन सक्छ, अक्षरको संगत गर्ने बानी परेको। अब त यिनै अक्षर हरु प्रीय लाग्छन्, अनि आफ्ना लाग्छन् । म आफुलाइ लेखक भनेर फुर्ती देखाउन चाहान्न, यसो गर्दा मेरा अक्षर अन्यायमा पर्छन्। म त आफ्नै जीवनका ती क्षणहरु शब्दमा उतार्न चाहान्छु जुन मैले भोगेको छु र नजिक बाट महसुस गरेको छु। म त्यस्ता कुरा मात्रै लेख्न सक्छु अर्थात म जस्तै अक्षरलाइ माया गर्ने मान्छे त्यस्ता कुरा मात्रै लेख्न सक्छन् जुन उसले भोगेको होस् जुन उसको मस्तिष्क ले कल्पना गर्न सकोस्।आजभोली त म निदाउँदा सपनिमा पनि बालापनमा सयर गरेर एक दुई अक्षर लेखौँ कि जस्तो पनि सोच्ने गर्छु। झुस्स उम्रेको दारी, असरल्ल कपाल अनि अस्तब्यस्त पहिरन मा घोत्लिएर अक्षर सङ्ग लुकामारी गर्न सौखिन छु म।
शब्द सिर्जना : रबि शिखा