“स्तनपान बच्चा र आमा बीचको भावनात्मक सम्बन्धको कुरा गर्दा एक नारीको लागि यो एउटा वरदान सरह नै हो ।”-मीरा बस्नेत
म एक नारी, एक मातृत्वले भरिएको नारी। करूणा,माया,दयाले भरिएको नारी,एउटै रूपमा अनेकौ सम्बन्धले गासिएको नारी अनि एक आमा पनि । यही साउन १६ गते, मंगलबारको दिन देखि विश्व स्तनपान सप्ताह शुरू भइसकेको छ। प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म आयोजना गरि मनाइने विश्व स्तनपान सप्ताह- सन १९९२ बाट मनाउन शुरू गरिएको हो । जन्मेको एक घण्टा भित्र आमाको दुध खुवाउन शुरू गर्नु नै आमा र बच्चा बीचको मातृत्वको भावना शुरू हुनु हो । केही दिन सम्म आउने बिगौते दुधले बच्चाको स्वास्थ्यलाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
स्तनपान बच्चा र आमा बीचको भावनात्मक सम्बन्धको कुरा गर्दा एक नारीको लागि यो एउटा वरदान सरह नै हो ।आजको युगमा स्तनपान चाहेर पनि गराउन नपाउने र स्तनपान गराउन नचाहने आमाहरूको भावना पनि बेग्ला-बेग्लै छन् । स्तनपान गर्न पाएर आफ्नो शारीरिक विकासलाई गति दिन पाउने सौभाग्यशाली शिशु जसले आफ्नो आमाको छातीमा टाँसिएर आफ्नो जीवनको वृद्धि विकासलाई अघि बढाउँछ । आमाले खाएको खानाको पोष,ताकत सँगै आमाको ममता अनि मनोवैज्ञानिक भावना आमाको स्पर्श र मातृत्वको पनि अनुभव गर्ने मौका पाउछ ।
आमा संसारको एक पवित्र अनि करुणामय शब्द उनै आमा जसले आफ्नो वक्षस्थलमा राखी स्तनपान गराउँदा उत्पन्न हुने मायाको तरंग उनले आफ्नो शिशुलाई प्रदान गर्दछिन् । विभिन्न कारणहरु जस्तै: प्रसवकाल पछि आमाले प्रयोग गर्नु पर्ने औषधीहरू,त्यसै गरी सुत्केरीले पोषिलो खाना खान नपाएर स्तनपान गराउन नपाउनु अनि अरू विभिन्न कारणहरुले स्तनपान गराउन नपाएका आमाहरुका पनि आफ्नै बाध्यताहरू हुन सक्छन् । स्तनपान स्वस्थ,सफा भावना रूपि आमाको मायाले भरिएको अमृत रूपि जीवन प्रदायक प्रक्रिया हो,जसको पान गर्नाले एउटा शिशु विकसित भएर राष्ट्रको असर र मजबुत नागरिक बन्दछ।
स्तनपान गराउन नपाउँदा बाहिरी दुधका बट्टाहरु किन्नु पर्ने बाध्यता सँगै आर्थिक रूपमा पनि खर्चिलो बन्ने गर्दछ । आर्थिक रूपमा पनि शिशुका आमा,बुवाले दुधको भार खेप्नुपर्ने बाध्यता रहन्छ । त्यसै गरी शिशुमा दुध पिलाउँदा आमाको दुध जति पोषिलो,सफा र स्वास्थ्य वर्धक नभएको पनि हामी विचार गर्न सक्छौँ ।त्यसैले एक आमा र बच्चाको सम्बन्ध अति नै ममतामय प्रगाढ बनाउन स्तनपान एक महत्वपूर्ण तरिका हो।
स्तनपान गर्नाले बच्चाको र आमा दुबैको स्वास्थ्य सबल रहने अनि मातृत्वको भावना उर्लेर आउने भएकोले नवजात शिशु आमासँग निकै नजिक र मातृत्वासल्य प्राप्त गर्न तप्तर हुने गर्दछ।त्यसै गरी यसपाली सन २०२३ को स्तनपान सप्ताह नारा- “Enabling breastfeeding making a difference for working parents ” रहेको छ ।यस नारा सहित मनाइदै गरेको स्तनपान सप्ताह प्रत्येक आमाहरूलाई एउटा मातृत्वको भावनात्मक सम्बन्ध हुने गर्दछ र त्यस कुरामा हामीले विचारधिन भएर स्तनपान गराउन सके आमा र बच्चा बीचको सम्बन्ध र अरू धेरै कुरा पनि राम्रो हुने कुरा विश्वास गर्न सकिन्छ ।
-मीरा बस्नेत शिक्षक फ्यूचर स्टार्स हाई स्कुल, जावलाखेल