कविता

घर मरेको दिन – अस्मित रेग्मि

नमिठो हाँसो रसिला आँखा निकै गरुङ्गो मन हुन्छ,
बेहुलीको रुपमा छोरी देख्दा पिडा, तकलिफ झन हुन्छ,
पछि फेरि बाच्ला नबाच्ला त्यो कुरा त्यही दैव जानुन्,
तर छोरीको बिहेको दिन उनको घरको निधन हुन्छ ।

दिदीको काखमा बुनेको सब रहरको मलामी बनी,
गुमाउदै छिन दिदीले आज जुन थरको मलामी बनी,
सब आए मेरो दिदी लिन जन्ती बनेर त्यो दिन,
म उभिरहेँ परिवारसङ्गै घरको मलामी बनी ।

नहुँदै गहिरो हानी रुन्छन, घर मरेको दिन,
यहाँ मात्रै हैन जा नी रुन्छन, घर मरेको दिन,
आमा रुन्छिन,दाइ भाइ रुन्छन के अचम्म मान्नु यहाँ,
हिटलर जस्ता बा नि रुन्छन घर मरेको दिन ।

योद्धा जसरी थामेकी थिइन् मन भरिएर आउदा पनि,
नयाँ समाज, नयाँ परिवारको डरले शिर घुमाउँदा पनि,
सम्झन्छु, म रुन्थेँ सानोमा एउटा गुडिया हराउदा आज,
आसु डिल मै थामेर गइन् दिदी घर गुमाउदा पनि ।

बाहिर पट्टि आगन्तुकलाई परिकार छ भोज छ,
भित्र कोठामा परिवार भने रोएर बिजोग छ,
त्यो दिन बुझेँ,
घर भत्किदा पनि समाजलाई भोज खुवाउन सक्नु नै एउटा छोरी हुर्काएको परिवारको महानता हो ।

कसरी सम्हाल्छन अरुका बा ले मन भारी हुदा,
आफ्नो छोरी अर्को घरमा अर्कैको बुहारी हुदा,
म भाइका लागि त लाग्यो परमात्मा लुटेजस्तै,
आमा कुना मा थुपुक्क छिन आत्मा लुटेजस्तै ।

दिदी अब कैले आउछेँ भाइ कराको छ,
दाइजो लैजाउ मलाई गोठको गाई कराको छ,
दुधभात ल्याइदेउली बिहानै तिमीले भन्ने आश हुन्छ,
तिम्रो काखैमा निदाउने त्यो बिरालो निरास हुन्छ,
खेलाउन पर्छ खुवाउन पर्छ शरीरमा छुनी पनि,
तिम्रो आवाज नसुनी निदाउन्न बिस्तारा मुनि पनि ।

घरको गरिमा सम्हाल्ने तिम्रो स्वरुप जटायु रैछ,
हाम्रो आगनको पवित्रता को राज तिमीले फेर्ने वायु रैछ,
अमर होला झै लाग्थ्यो घर, डोली उठेको दिन बुझे,
तिम्रो मुहारको हासो नै आखिर यो घरको आयु रैछ ।

आज भान्सामा पकाउने, हात अर्को भो भन्दै,
नहुदा तिमी, हरेक चिज… सङ्ग झर्को भो भन्दै,
तिम्रो अनुपस्थितिको रिस बाले मै माथी पोख्छन ढुक्क,
भोलि मैले पकाको खानामा नुन चर्को भो भन्दै ।

बिरालो भन्छ नाटक गरम जसरी तसरी हासुम,
गाईले भन्छ ठिकै हो नि मरी मरी हासुम,
खुसी हुन्थेँ दिदी गएनि बाउ आमा छन भन्दै,
बाउआमा नै निराश छन खोइ कसरी हासुम?

दिदी,
यो अन्धकार घरको बरन्डामै तिमीले जुन लगाएकी थियौ,
त्यहि सम्झेर सास फेर्नेछ घरले, आखिर गुन लगाएकी थियौ,
आशा छ,
नयाँ परिवार पनि महान तिमी जस्तै होलान,
तिम्रा पति तिम्रा जहान तिमी जस्तै होलान,
होलान नहोलान देखेको छैन, यदि भएको भए,
निर्धक्क भन्छु भगवान पनि तिमी जस्तै होलान ।

शुभकामना दिदी…..✍❤💕
– AsMIT

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button